११ आश्विन २०८३, आइतबार 1790490851
अर्थ

माथिल्लो तामाकोशी एक साता बन्द हुने

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यही कात्तिक ८ गतेदेखि एक हप्ता बन्द हुने भएको छ । आयोजनामा जडान भएका उपकरणहरूको एक साता प्राविधिक परीक्षण गरिने भएकाले परियोजनाबाट बिजुली उत्पादनसमेत बन्द हुने भएको हो । दिपावलीको अवसरमा कूल चार सय ५६ मेगावाट क्षमताको आयोजना बन्द गरिँदासमेत कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आयोजनाको नियमित परीक्षणका लागि बिजुली उत्पादन बन्द गर्न लागिएको हो । आयोजनाले यही कात्तिक ७ गते रातिदेखि जलाशयको पानी घटाउने भएको छ । पानी घटाउँदा तल्लो तटीय क्षेत्रमा करिब १२ घण्टा नदीको बहाव बढ्ने भएकाले सो अवधिभर सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको छ । तल्लो तटको लामाबगर, छेतछेत, गोङ्गर, जगत, टुनिटार, जामुने, भोर्ले, सिङ्गटी, नयाँ पुल, कीर्ने, खिम्तीसहित सुनकोशी नदी दोभानसम्म माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्नेजस्ता कार्य नगर्न नगराउन आयोजनाले आग्रह गरेको छ ।

यस्तै नदी किनारमा परम्पराअनुसार मृतकको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतकर्कतापूर्वक गर्न गराउन सबैमा अनुरोध गरिएको आयोजनाले स्पष्ट पारेको छ ।