२८ भदौ २०८३, आइतबार 1789347721
Banner

माओवादीका बागी उम्मेदवारलाई कारवाही, साधारण सदस्यबाटै निस्कासित

काठमाडौं : नेकपा माओवादी केन्द्रले आफ्ना पार्टीका बागी उम्मेदवारहरूलाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको छ। माओवादी केन्द्रले विशेष परिपत्र जारी गर्दै पाँच जना उम्मेदवारलाई निस्कान गरेको हो।

माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, विरेन्द्र यादव, दिपेन्द्रबहादुर पुन र काशीचन्द्र बराललाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको हो।

हेमराज भण्डारीले धनकुटाबाट प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन्। यस्तै, अशोककुमार मण्डलले सप्तरी-१ (संघ), विरेन्द्र यादवले पर्सा-४ (संघ), दिपेन्द्र बहादुर पुन मगरले प्रदेशतर्फ रोल्पा १ र काशीचन्द्र बराल (संघ)ले कालीकोटबाट उम्मेदवारी दिएका छन्। 

गठबन्धनका विरुद्ध स्वतन्त्र उम्मेदवार रहेको भएमा वा त्यस प्रकारका उम्मेदवारको प्रस्तावक र समर्थक रहेको भएमा पार्टीका सम्बन्धित प्रदेश समितिहरूले तत्काल केन्द्रीय कार्यालयमा कारवाहीका लागि सिफारिस गर्नुपर्नेछ।

जिल्ला र स्थानीय तहका पार्टी समितिका सदस्यहरूले पार्टी र गठबन्धनको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएको वा त्यस प्रकारका उम्मेदवारको प्रस्तावक र समर्थक रहेको भएमा पार्टीबाट निष्काशनको कारवाही गरिने माओवादी केन्द्रले जनाएको छ।