काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्ण राईले सुर्य ध्वजाबाहक उम्मेदवारहरुलाई अत्यधिक मतले बिजयी गराउँन आग्रह गर्नुभएको छ । उहाँले अन्य पार्टीका उम्मेदवार भन्दा एमालेका उम्मेदवार उत्कृष्ट भएको भन्दै भोट हालेर जिताउन समेत अपिल गर्नुभयो ।
नेकपा (एमाले) गोकर्णेश्वर नगरपालिका २ नम्बर वडा कमिटीले आज आयोजना गरेको बृहत् युवा भेला कार्यक्रमलाई सम्बोधन गदै राईले अबको हाम्रो योजना भनेको गोकर्णेश्वर नगरपालिकालाई सुविधासम्पन्न नगरपालिका बनाएर जनताको जीवनस्तर उच्च बनाउने हो भन्नुभयो । जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने अभियान चलाई रहेको उल्लेख गर्दै उहाँले अबका दिनमा जिल्लामा नै रोजगारीको सिर्जना गर्न व्यापकमात्रामा औद्योगिकरणको योजना अगाडी बढाईको जानकारी दिनुभयो ।
बृहत् युवा भेलाको कार्यक्रम संचालन राजेन्द्र भण्डारीले गर्नु भएको थियो भने कार्यक्रमलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सुदर्शन बजगाई, नेकपा एमाले ३ नम्बर क्षेत्रका निर्वाचन परिचालन कमिटीका संयोजक उद्धव भण्डारी,नेकपा एमालेका पोलिटब्युरो सदस्यद्वय रामेश्वर फुयाल र कृष्ण राईले सम्बोधन गर्नु भएको थियो । भेलाले नवीन श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय राष्ट्रिय युवा संघ नेपालको गोनपा २ नम्बर वडा कमिटी समेत निर्माण गरेको थियो । भेलामा प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारले युवाले चुनावमा खेल्नुपर्ने भुमिकाको बारेमा र नेकपा एमालेलेनै किन जित्नुपर्छ भन्ने सन्दर्भमा आफ्नो धारणा राख्नु भएको थियो ।