३० कार्तिक २०८१, शुक्रबार 1731655848
Banner

नेपाल एयरलाइन्सको नयाँदिल्ली उडान कटौती

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार बिहान तय भएको दिल्ली उडान कटौती गरेको हो ।

भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाही स्वरुप नयाँ दिल्ली गन्तव्यको उडान संख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी उडान गरिरहेका एयरलाइन्सलाई भैरहवाबाट कम्तीमा पनि एक उडान गर्नुपर्ने व्यवस्थासहित लिखित निर्देशन दिएको थियो ।

काठमाडौँ विमानस्थलको विद्यमान हवाई उडान चाप व्यवस्थापन गर्न तथा गौतमबुद्ध विमानस्थलको प्रभावकारी प्रयोजनका निम्ति प्राधिकरणले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य उडान गर्न निर्देशन दिएको थियाे । प्राधिकरणको यो निर्णयले काठमाडौँ उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीले भैरहवामा अनिवार्य उडान गर्नुपर्नेछ ।

प्राधिकरणले निर्देशन दिएबमोजिम नेपाल एयरलाइन्स तत्कालै भैरहवामा उडान गर्न असमर्थ भएपछि निगमको उडान कटौती भएको सम्बन्धित अधिकारीले बताएका छन् । प्राधिकरणको निर्देशनबमोजिम भैरहवा उडान भर्न निगम तयार रहे पनि प्राविधिक व्यवस्थापनसहित तयारी गर्न करिब दुई महिना लाग्ने भएकाले तत्कालै उडान गर्न नसकिने निगमले उल्लेख गरेको छ ।