बुटवल — रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका डा.कमल भुसालको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।
मंलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीका डा. भुसालको रिट खारेज गर्ने फैसला गरेको थियो ।
यसअघि निर्वाचन आयोगले सरकारी छात्रवृत्तिमा एम.डी. अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि डा. भुसालले दिएको उम्मेदवारीे खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध भुसालले सर्वोच्चमा रिट दायर गरेका थिए ।
तर सर्वोच्चले अन्तिम फैसला गर्दै आयोगको निर्णयलाई सदर गरेको हो । यसअघि रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगसमेतका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।
रुपन्देही क्षेत्र नं २ मा नै यसअघि नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी पनि निर्वाचन आयोगले खारेज गरेको थियो ।