३० कार्तिक २०८१, शुक्रबार 1731682267
Banner

नेकपा समाजवादीको सिगो कमिटी नै एमालेमा समाहित

काठमाडौं । नेकपा एकिकृत समाजवादीको सिगो कमिटी नै नेकपा एमालेमा समाहति भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको नेकपा एसको कमिटी एमालेमा समाहित भएको हो ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको उपस्थितीमा भोटेकोशीमा नेकपा एसको कमिटी गठन भएको थियो । नेकपा एसको पार्टीले देश र जनताको लागि केही गर्न नसक्ने निष्र्कषका साथ सिगो कमिटी नै एमालेमा समाहित गरेको नेकपा एस भोटेकोशी गाउँपालिकाका अध्यक्ष साङगे शेर्पाले बताए ।

एमालेमा समाहित गर्ने कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम सिन्धुपाल्चोक–१ का उमेदवार सरेश नेपाल लगायतका नेताहरुले पुरानो घरमा स्वागत गरेका थिए ।

समाजवादी भोटेकोशी गाउँपालिका कमिटीका अध्यक्ष साङगे शेर्पा, गाउँपालिकाका सचिव निमा दोर्जे शेर्पा,जिल्ला कमिटी सदस्य बलबहादुर तामाङ लगायत भोटेकोशी गाउँपालिकाबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सबै नेताहरु एमालेमा समाहित भएका छन् । त्यस्तै युवा,विद्यार्थी, सवै वडाका कमिटीहरु,जनवर्गीय संगठन समेत एमालेमा समाहित भएको नेकपा एमाले भोटेकोशी गाउँपालिकाका अध्यक्ष अमृत खडकाले जानकारी दिए ।

समाजवादी भोटेकोशी गाउँपालिकाका अध्यक्ष साङगे शेर्पा स्थानीय निर्वाचनमा अध्यक्षका उमेदवार समेत थिए । उनले ८८१ मत प्राप्त गरेका थिए । एमालेका उमेदवार अमृत खडकाले ५ सय ५७ मत ले पराजीत भएका थिए । उपाध्यक्षमा भने एमालेका सुन्तलीमाया श्रेष्ठ झिनोमतान्तरले पराजीत भएकी थिइन। श्रेष्ठ ले १५९ मतले पराजीत भएकी थिइन । समाजवादीबाट उपाध्यक्षमा उमेदवार भएकी निमा छोपसाङ तामाङनीले ७१८ मत ल्याएकी थिइन ।

सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये भोटेकोशी गाउँपालिका र मेलम्ची नगरपालिकामा नेकपा एसका उमेदवारहरुका कारण एमाले उमेदवारहरु पराजीत भएका थिए । स्थानीय निर्वाचनमा थोरै मतले पराजीत भएपनि एमाले भोटेकोशी गाउँपालिकाका अध्यक्ष अमृत खडकाको पहलमा भोटेकोशी गाउँपालिकाका समाजवादीको सिगो टिमलाई एमालेमा समाहित गराउन सफल भएका थिए । स्थानीय निर्वाचनमा भएका तितामिठा क्षणहरुलाई भुल्दै एमालेलाई टेकोशीमा अझै बलियो बनाउनका लागि हामीले समाजवादीलाई एमालेमा समाहित गरेका हौ एमाले भोटेकोशी गाउँपालिकाका अध्यक्ष खडकाले भने ।

आफ्नो नेतृत्वमा रहेको कमिटी सहित पुरानो घरमा फर्कदा न्यानो अनुभुति भएको नेकपा एसका अध्यक्ष साङगे शेर्पाले बताए । अब विगत छोडेर मंसिरमा हुने निर्वाचनमा एमालेका उमेदवारहरुलाई जिताउन आफुहरु लाग्ने शेर्पाले उद्घोष गरे । हिजोका कमी कम्जोरीहरुलाई सच्याउदै मंसिर ४ का लागि हामी तयारी छौ शेर्पाले भने ।

एमाले केन्द्रीय सदस्य एवम क्षेत्र नम्बर १ का उमेदवार सरेश नेपालले आफ्नो घर छाडेर अन्यत्र गएकाहरुलाई घर फर्कन आग्रह गरे । भोटेकोशीबाट एउटा नयाँ अध्यायको सुरुवात भएको छ नेपालले भने–‘अब अरु मित्रहरुलाई पनि म आफ्नै घरमा आउन आग्रह गर्दछु ।’नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले घर फर्केका सबै नेताहरुलाई पार्टीले उचित जिम्मेवारी दिने बताए ।