२३ भदौ २०८३, मंगलबार 1788920535
Banner

युद्धको दोस्रो दिन युक्रेनको राजधानी कीभ कब्जा गर्दै रुसी सेना

काठमाडौँ– रुसी सेना युक्रेनको राजधानी कीभमाथि नियन्त्रणमा लिन भिडन्त जारी राखेका छन्। हिजोबाट सैन्य कारवाही थालेका रुसी सैनिकहरू राजधानी कीभलाई कब्जा गर्न युक्रेनी सैनिकहरूसँग युद्ध जारी राखेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार युक्रेनको राजधानी कीभमा रुसी सेना र युक्रेनी सैनिकहरूबीच भीषण भिडन्त भइरहेको छ।

रुसी सेना ट्याङ्कसहित युक्रेनको राजधानी कीभभित्रै पुगेपछि ठूलाठूला विस्फोटनको आवाज सुनिएको सीएनएनले जनाएको छ। युक्रेनी सेनाले पनि रुसी सैनिकहरू राजधानी कीभको उत्तरी भेगसम्म पुगिसकेको पुष्टि गरेपनि अन्तिमसम्म युद्ध लड्ने जनाएको छ। युक्रेनी अधिकारीहरूले सबैलाई सैनिक सेवामा भर्ना हुन र स्थानीय बासिन्दालाई रुसी सेनाको प्रतिकार गर्न आग्रह गरिरहेका छन्। यसैबीच बेलायतका रक्षामन्त्री बेन वोलिसले करिब ४ सय ५० जना रुसी सैनिक युक्रेन युद्धमा मारिएको दाबी गरेका छन्।

बेलायतको रेडियो फोरसँग वोलिसले आक्रमणको पहिलो दिन रुसले युक्रेनको कडा प्रतिरोधका कारण कुनै सैन्य लक्ष्य हासिल गर्न नसकेको दाबी गरे। यता ब्ल्याक सीको एउटा टापुमा आत्मसमर्पण गर्न नमानेका १३ युक्रेनी सीमा रक्षा बलका सदस्यहरूको रुसले हत्या गरेको जनाइएको छ। संयुक्त राष्ट्रसङ्घले युक्रेनमाथि रुसी हवाई आक्रमणमा कम्तीमा २५ गैरसैनिक मारिउको र १ सय २ जना घाइते भएको जनाएको छ।