१ मंसिर २०८१, शनिबार 1731744918
Banner

काठमाडौँका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवन र क्षेत्र नं ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा हुनेछ । निर्वाचन क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थली, क्षेत्र नं ७ को बालाजुस्थित जुडो हल, क्षेत्र नं ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नं ९ को रविभवनस्थित न्याथम कलेज र काठमाडौँ क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गरिनेछ । यद्यपि, काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मत गणना सुरु गरिसकिएको छ । निर्वाचन अधिकृत उषा श्रेष्ठले चार स्थानमा मतगणना सुरु गरिएको जानकारी दिनुभयो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइएको छ । यस्तै ललितपुर निर्वाचन क्षेत्र नं २ र ३ को पनि मतगणना आज बिहान २ बजदेखि सुरु भइसकेको छ । ललितपुर क्षेत्र नं २ को सातदोबाटोस्थित राष्ट्रिय खेदकूद परिषद् परिसर र क्षेत्र नं ३ को जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना जारी छ ।