१२ कार्तिक २०८३, बिहिबार 5:50 pm
राजनीति

सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधिमा कुनै भिन्नता छैन : मन्त्री पोखरेल

हेटौँडा : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सङ्घीय र प्रादेशिक विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक उपाधिबिच कुनै तहगत भिन्नता नरहेको बताएका छन् । सङ्घीय ऐनअनुसार खुलेका र प्रदेश ऐनअन्तर्गत सञ्चालित विश्वविद्यालय दुवैका उपाधि समान हैसियतका रहेको उनले बताए ।

बागमती विश्वविद्यालयको आयोजनामा बिहीबारदेखि हेटौँडामा सुरु भएको ‘नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरण प्रादेशिक विश्वविद्यालय व्यवस्थापन र समन्वय’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सङ्घीय र प्रादेशिक विश्वविद्यालयबिचको सम्बन्ध तथा विश्वविद्यालय अनुदान आयोगको भूमिकाबारे देखिएको अन्योल हटाउन आवश्यक रहेको बताए ।

प्रादेशिक विश्वविद्यालय सञ्चालनमा सङ्घीय सरकार र विश्वविद्यालय अनुदान आयोगको भूमिका के हुने भन्ने विषय अझै स्पष्ट हुन नसकेको उनको भनाइ छ । ‘विश्वविद्यालय स्थापना गर्नुअघि नै आयोगसँग पर्याप्त परामर्श र समन्वय भएको भए अहिले देखिएका कतिपय समस्या सुरुमै समाधान हुन सक्थे ।’ उनले भने– ‘संविधानअनुसार प्रदेशमा एकभन्दा बढी विश्वविद्यालय स्थापना गर्न सकिने भए पनि आगामी दिनमा खुल्ने संस्थाबारे सुरुदेखि नै आयोगसँग समन्वय गर्नुपर्छ ।’