९ मंसिर २०८१, आइतबार 1732493549
प्रदेश

बागमती प्रदेशमा डेङ्गुको सङ्ख्या ४२ हजारभन्दा बढी पुग्यो

लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ ।

बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ४२ हजार सात पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेङ्गुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ ।

काठमाडौँ जिल्लामा ११ हजार एक सय २७ डेङ्गुका बिरामी फेला परेका छन् । रसुवा जिल्लामा ११ मा मात्र डेङ्गुका सङ्क्रमित फेला परेको बताइएको छ । डेङ्गुको सङ्क्रमणबाट ललितपुरमा नौ हजार छ सय तीन, मकवानपुरमा पाँच हजार आठ सय २२, भक्तपुरमा एक हजार एक सय २४, चितवनमा तीन हजार एक सय ५९, धादिङमा एक हजार छ सय ४५, काभ्रेमा पाँच सय ३६, रामेछापमा दुई सय ३४, सिन्धुपाल्चोकमा दुई सय नौ, नुवाकोटमा, दुई सय ७३, सिन्धुलीमा एक सय ७० र दोलखा जिल्लामा एक सय चार जना बिरामी भएको सो निर्देशनालयबाट प्राप्त विवरणमा जनाइएको छ । त्यसैगरी प्रदेशमा हालसम्म डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २३ पुगेको बताइएको छ । काठमाडौँका सात, सिन्धुली र रामेछापका तीन÷तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई÷दुई र धादिङका एक÷एक जनाको मृत्यु भएको छ ।