३ मंसिर २०८१, सोमबार 1731909439
Banner

काँग्रेस संसदीय दलको नेता चयन आज : सभापति देउवा ३२ बर्ष कान्छा युवा नेता गगन थापासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज हुँदैछ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । मतदान आज बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ । मतदान समाप्त भएपश्चात् मतगणना र निर्वाचन परिणामको घोषणा हुनेछ । पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजकत्वको निर्वाचन समितिमा नेताहरु पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहनुभएको छ ।

दुवै उम्मेदवारले जित निकाल्ने प्रयासमा हुनुहुन्छ । सभापति देउवाले आफ्नो पक्षमा सांसद संख्या बढी रहेकाले जित सुनिश्चित रहेको भन्दै ढुक्क देखिनुभएको छ । यता अर्का उम्मेदवार थापाले युवा सांसदको मत आफूलाई आउने र परिवर्तनको मुद्दा आफ्नो जितसँगै सुनिश्चित हुने दावी गर्नुभएको छ ।

हिजो मंगलबार तोकिएको समयभित्र उम्मेदवारी परेपछि दुवै जना उम्मेदवारले सांसदलाई आफ्नो पक्षमा पार्ने तिव्र लविङ शुरु गरेका छन् । थापालाई डा. शेखर कोइराला र संस्थापनइतर समूहको समर्थन छ भने सभापति देउवालाई रामचन्द्र पौडेल, डा. शशांक कोइरालासहितको समर्थन छ ।

कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सिट ल्याएको थियो । अहिले सो दलसँग ८९ जना सांसद छन् । सबै सांसदले मतदान गरेमा जित निकाल्न कम्तिमा ४५ मत ल्याउनुपर्ने निर्वाचन समितिका सदस्यहरुको भनाइ छ । सभापति देउवाले आफूसँग ५५ सांसद रहेको दावी गर्दै आउनुभएको छ ।

थापाको पक्षमा अहिले ३४ जना सांसद देखिए पनि सभापति देउवा पक्षका युवा सांसद तथा परिवर्तनको एजेण्डा बोक्ने सांसदले आफूलाई मतदान गर्ने विश्वास थापाले लिनुभएको छ । दलको नेतामा प्रतिस्पर्धी थापा सभापति देउवा भन्दा ३२ बर्ष कान्छो हुनुहुन्छ ।