काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा दावी नगर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेपछि यतिबेला ‘प्रधानमन्त्री’ को बन्ने भन्ने विषय पेचिलो बन्दै गएको छ ।
प्रधानमन्त्री देउवाले आलोपालो प्रधानमन्त्री हुने र दोस्रो कार्यकाल प्रचण्डलाई छोड्नेगरी सर्त अघि सारेपछि प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वार्ता निष्कर्षविहीन भएको थियो ।
प्रचण्डले पूर्व सहमतिअनुसार आफूले प्रधानमन्त्री पाउनुपर्ने दाबी गर्दै आएका छन् भने देउवाले पनि ठूलो पार्टीको हैसियतले कांग्रेसकै नेतृत्व हुनुपर्ने दाबी गर्दै आएका छन् । पछिल्ला केही दिनदेखि देउवा र प्रचण्डबीच प्रधानमन्त्री विषयमा लगातार छलफल जारी रहे पनि पहिलो कार्यकाल को प्रधानमन्त्री हुने भन्नेमा विवाद हुँदै आएको छ । हिजो अवेरसम्म सहमति जुटन नसकेपछि निष्कर्षका लागि आज पनि बैठक बसेर टुंग्याउने स्रोतले बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा भोलि साँझ ५ बजे सकिँदै छ ।
त्यतिबेलासम्म प्रधानमन्त्रीको दावी पेस गरिसक्नुपर्नेछ । त्यस्तो दावी कसैले पेस गर्न नसकेमा राष्ट्रपतिबाट ७६ (३) अनुसारको सरकार गठन गर्न आह्वान हुनेछ ।