काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सांसदहरुको भेला आज हुँदै छ । मध्याह्न साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेला हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहित दाबी गर्न दलहरूलाई आइतबार ५ बजेसम्मको समय दिनुभएको छ तर कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरूबीच शनिबार बिहानसम्म सहमति जुटेको छैन। सत्ता गठबन्धनका पाँच दलले गठबन्धनकै दलहरू मिलेर सरकार बनाउने बताउँदै आएका छन्। तर कसको नेतृत्व भने टुंग्याएका छैनन्।
भेलामा सरकार निर्माणलगायत विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा माओवादी केन्द्रले सुरुमा प्रधानमन्त्रीको दाबी गर्दै आएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् । तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन् । यसै विषयमा सांसदको धारणा बुझ्न देउवाले भेला बोलाएको स्रोतले बताएको छ ।