३ मंसिर २०८१, सोमबार 1731953327
पालिका

मेयर बालेन शाहले थपेका काठमाडौं महानगरपालिका नगर प्रहरीले तलब पाएनन


काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यरत नगर प्रहरीले डेढ महिनासम्म तलब नपाएपछि आक्रोषमा उत्रिएका छन् ।

काठमाडौं महानगरपालिकाले निजी सेक्युरिटी कम्पनी मार्फत १ सय ६२ जना नगर प्रहरी थपेको थियो। थपिएका नगर प्रहरी कर्मचारी बल्खुमा रहेको युनिक सेक्युरिटीले उपलब्ध गराएको थियो । नगर प्रहरीले करिब डेढ महिनाको तलब नपाएपछि उनिहरुले युनिक सेक्युरिटीमा घेराउ गरेका हुन् । डेढ महिना पुग्न लाग्दासमेत पोशाक र तलब नपाएका कारण उनिहरु ‘नगर प्रहरी’ लेखिएको पहेँलो ज्याकेटको भरमा फिल्डमा उत्रिएका थिए ।

महानगरपालिकाले ८ भदौमा टेन्डर आह्वान गरेर युनिक सेक्युरिटीमार्फत करारमा एक वर्षका लागि नगर प्रहरी थपेको थियो। निजी सेक्युरिटी कम्पनीमार्फत पूर्वसैनिक, पूर्वप्रहरी र प्रहरीका तालिम लिएकालाई छनोट गर्ने गरी टेण्डरसमेत गरेको थियो। छनोट भएका नगर प्रहरीलाई महानगरले तलब भक्ता, पोशाक खर्च उपलब्ध गराउने भनिएपनि तलब २० हजार ७ सय मात्रै उपलब्ध गराउने सहमति भएको युनिक सेक्युरिटीले जनाएको छ । महानगरपालिकाले तलब भक्ता र अन्य सुविधा दिने सहमति भएको भनिएपनि कुनै सुविधा नपाएपछि नगर प्रहरी बिरोधमा उत्रिएका हुन ।

महानगरभित्र काम गर्न कठिन भएको भन्दै महानगर प्रमुख बालेन साहले अस्थायी रूपमा नगर प्रहरी थप गरेका थिए । नगर प्रहरीलाई मासिक २० हजार ७ सय तलब, वार्षिक १३ हजार पोशाक भत्ता र रासन तथा आवास पाउने महानगरले बताउदै आएको थियो तर नगर प्रहरीले कुनै सुविधा नपाएकोमा आक्रोष व्यक्त गरेका हुन ।