३ मंसिर २०८१, सोमबार 1731947642
Banner

तमु ल्होसारको अवसरमा राष्ट्रपतिको शुभकामना, समृद्ध मुलुक निर्माणमा गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमुल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा तमुल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वावस लिएको छु ।” तमुल्होसारका दिन गुरुङ समुदायका महिला शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुष टोपी, भोटोमाथि भाङ्ग्रा, कछाड अनि पटुकी बाँधेर सजिन्छन् । यस अवसरमा घाटु, सोरठी, कौडाजस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गर्दछन् ।

नेपालको मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको सन्देशमा उल्लेख छ । नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएका अवसरका रूपमा हर्षोल्लासका साथ मनाउने गरिन्छ । गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लामा यो पर्व धुमधामसँग मनाउने गरिन्छ ।