काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उनले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको बताएका थिए । पुस १० गते प्रधानमन्त्री नियुक्त भएर ११ गते ८ सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रचण्डले आइतबार सत्ता साझेदार दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
हाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री छन् । जसमा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको रुपमा नेकपा एमालेका विष्णु पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्रीको रुपमा माओवादीका नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृह मन्त्रीको रुपमा रवि लामिछाने छन् ।