काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता भएको हो । पौडेलको सचिवालय स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ। प्रतिनिधि सभामा सभामुख चयनका लागि बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच भेटवार्ता भएको हो।
आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। सभामुख पदका लागि सत्ता साझेदार दलबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसलगायत दलबाट सांसद ईश्वरीदेवी न्यौपाने उम्मेदवार छन्।
गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सभामुख निर्वाचनमा भने कांग्रेसले आफ्नै सांसद न्यौपानेलाई उम्मेदवार बनाएको छ।
कांग्रेसले राष्ट्रपति पद आफूले लिनका लागि कुराकानी गर्दै आएको छ।