४ मंसिर २०८१, मंगलबार 1732054601
Banner

कम्बोडियाबाट झापा ल्याइयो निराकारको शव

काठमाडौं । कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ ।

कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम्फाल्दा उहाँको मृत्यु भएको थियो । शुक्रबार कम्बोडियाबाट काठमाडौँ ल्याइएको उहाँको शव आज दिउँसो १२ः३० बजेतिर विर्तामोडस्थित निवासमा पु¥याइएको हो ।

युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया जानुभएको अवस्थामा उक्त घटना भएको थियो । उहाँको शव निवासमा ल्याइने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौँ शुभचिन्तकको भीड लागेको थियो । “एउटा होनहार युवाले अकल्पनीय दुर्घटनामा ज्यान गुमाउँदा सबैको मन रोएको छ”, स्थानीय इजलास दैनिकका सम्पादक प्रदीप परियार भन्नुहुन्छ, “आज सिङ्गो विर्तामोड स्तब्ध भएको छ ।” मृतक पाण्डे विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुनुहुन्थ्यो ।

पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ । घटना लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताउनुभएको थियो । आजै कनकाइ माईमा स्व. पाण्डेको अन्त्येष्टि गरिने जनाइएको छ ।