काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गृहमन्त्रीका लागि दुई दिन पर्खिने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोनमार्फत् दुई दिनको समय माग गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री र ओलीको फोन आएरै आफूहरू दुई दिन पर्खिन तयार भएको बताए। यसबीचमा ओली नेतृत्वको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर यस विषयमा छलफल चलाइने उनको भनाइ छ।
ुप्रधानमन्त्रीजी र एमाले अध्यक्षजीले सभापतिज्युलाई टेलिफोन गरेर दुई दिनको समय माग्नुभएको छ। उहाँहरूले रास्वपाले समग्र परिस्थितिलाई मध्यनजर गर्दै दुई दिनको समय माग्नुभएको छ। यसबीच सत्ता साझेदार दलहरूले उच्च स्तरीय राजनीतिक संयन्त्रबाट समस्या समाधान गर्ने भन्नुभएको छ,ु उनले भने। उनले यसबीचमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि टेलिफोन गरेर दुई दिनको समय माग गरेको बताए।
उनले दुई दिन कुर्दैमा केही नबिग्रने भन्दै उक्त समय दिएको बताए। गृह मन्त्रालय पाए कोसलाई मन्त्री बनाउने भन्ने प्रश्नमा उनले उक्त कुरा पार्टीले निर्णय गर्ने बताए। ‘सुरुमा त प्रधानमन्त्रीजीले मन्त्री पठाउनुस् भन्नुपर्यो। त्यो भनिसकेपछि सांसदलाई पठाउने कि गैरसांसदलाई पठाउने त्यो पार्टीले नर्णय गर्छ’ उनले भने।