काठमाडौं । काठमाडौं महानगरपालिकाको सडक उज्यालो बनाउने योजना सम्पन्न हुँदै गएको छ । महानगरका पूर्वमेयर विद्या सुन्दर शाक्यले सुरु गरेको उक्त योजना अहिले सम्पन्न हुनेतर्फ अगाडि बढिरहेको छ ।
२०७७ मंसिरमा मेयर शाक्यले सुरु गरेको सडक उज्यालो कार्यक्रम शाक्यपछि निर्वाचित भएका मेयर बालेन्द्र शाहको पालामा सम्पन्न भएको हो । मेयर शाहले अहिले उक्त सडक उज्यालो कार्यक्रम सम्पन्न भएको भन्दै समाजिक सञ्जालमा प्रचार गरेपनि यो उनको अभियान भने होइन । समाजिक सञ्जालमा सडकमा बत्ती बलेको फोटोमा बालेनको फोटो राखेर सेयर गर्दै महानगरको सडकमा आधुनिक बत्ति जडान लेखिएको छ ।
बालेन समर्थकहरूले बत्ती बालेको फोटोमा बालेनको फोटो जोडर प्रचार गरेपनि यो कार्यक्रम भने पूर्वमेयर शाक्यले ७७ मंसिरमा सुरु गरेको पुष्टि भएको छ । पर्व मेयर शाक्यले सडकमा आधुनिक बत्ति जडान गर्न सडक विभाग र नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेका थिए । सम्झौतामा महानगरको तर्फबाट मेयर शाक्य, सडक विभागका महानिर्देशक केशव कुमार शर्मा र नेपाल विद्युत प्राधिकरणको का.मु कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले हस्ताक्षर गरेका छन् ।
उक्त सहमति पत्रअनुसार सडकमा जडान गरिने आधुनिक बत्तीमा महानगर र प्राधिकरणको संयुक्त लगानी हुने र महानगरले ६० प्रतिशत र प्राधिकरणले ४० प्रतिशत गर्ने उल्लेख छ । यसको लागि लागत अनुमान, प्रविधि छनोट, निर्माण सुरपरिवेक्षण प्राधिकरणले र निर्माण पछि सडक मर्मत, फुटपाथ निर्माणलगायत काम सडक विभागले गर्ने सहमति भएको थियो ।