काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार पक्राउ प्रकरणमा सरकारसँग जवाफ मागेका छन्। पक्राउ परेका पत्रकार छुट्दैमा घटना सकिएको नमानिने भन्दै उनले पक्राउको निर्देशन कसले दिएको थियो र त्यसको जिम्मेवारी कसले लिने भन्ने विषय सार्वजनिक हुनुपर्ने बताएका छन्।
शर्माले सञ्चार गृह अगाडि मोटर राखेर केही महिनाअघि आतंक सिर्जना गर्ने व्यक्ति को थिए भन्ने प्रश्नसमेत उठाएका छन्। उक्त घटनाका दोषी पत्ता लगाएर सार्वजनिक गर्न सरकारले चासो नदेखाएको उनको आरोप छ। अहिले सञ्चार गृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्दा प्रधानमन्त्री कार्यालयले ‘गिरफ्तारीमा हामी संलग्न थिएनौं’ भनेर प्रतिक्रिया दिएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
प्रश्न प्रधानमन्त्री कार्यालय संलग्न थियो कि थिएन भन्ने होइन। प्रश्न मुलुकको चौथो अंगमाथि यस्ता गतिविधि हुँदा सरकार सरकारका रूपमा देखिने र भेटिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने हो,’ शर्माले भनेका छन्।
सत्तारूढ दलले पत्रकारको गिरफ्तारी गैरकानुनी भएको बताएको विषयलाई उनले सकारात्मक रूपमा लिएका छन्। तर, गैरकानुनी गतिविधि निरन्तर दोहोरिँदा त्यो एउटा घटना मात्र नभई प्रवृत्ति बन्ने खतरा रहेको उनको भनाइ छ। उनले सत्तारूढ दलको चुनावी घोषणापत्रमा उल्लेख गरिएको प्रेस स्वतन्त्रताको प्रतिबद्धता सरकारले व्यवहारमा पनि कार्यान्वयन गर्छ कि गर्दैन भन्ने प्रश्न उठाएका छन्।
‘सत्तारूढ पार्टीले गिरफ्तारी गैरकानुनी भनिराखेर आफ्नो दायित्व सकिन्छ कि त्यसभन्दा अघि बढेर गैरकानुनी गतिविधि नियन्त्रणमा उसको हैसियतलाई सरकारले सुन्छ र मान्छ पनि?’ उनले प्रश्न गरेका छन्। शर्माले आफूहरू स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको बताएका छन्। उनले गलत र भ्रमपूर्ण समाचारको खण्डन, नियन्त्रण तथा आवश्यक कारबाहीका लागि निश्चित विधि र प्रक्रिया रहेको उल्लेख गर्दै उनले त्यसको पालना गर्नुपर्नेमा जोड दिए।
‘संविधान प्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुन्ड्याउने गैरकानुनी गतिविधि बन्द गरौं। पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गरोस्,’ शर्माले भनेका छन्। उनले प्रेस स्वतन्त्रताको संरक्षण गर्न र पत्रकार पक्राउ प्रकरणको वास्तविकता सार्वजनिक गर्न सरकारसँग उनको माग छ।

