१० मंसिर २०८१, सोमबार 1732521538
समाचार

बुद्धिजिवी परिषद्ले सुरु ग¥यो ‘पुरस्कार तथा सम्मान कोष’

काठमाडौं । नेकपा एमाले निकट नेपाल बुद्धिजिवी परिषद्ले ‘पुरस्कार तथा सम्मान कोष’ स्थापना गरेको छ । परिषद्को केन्द्रीय कमिटीको असार १८ गतेको निर्णय अनुसार कोषको स्थापना भएको हो ।

परिषद्ले कोष सञ्चालनका लागि संयोजक ऋषि खनाल र सचिव जानु धिताललाई जिम्मेवारी तोकेको छ । बागमती प्रदेशसभा सदस्यसमेत रहेका डा.दिनेश चन्द्र देवकोटा अध्यक्षतामा रहेको उक्त परिषद्ले विगत केही वर्ष अघिबाटै कोष स्थापना गर्ने छलफल थालेका थिए ।

केही अघिदेखिकै छलफललाई पूर्णता दिइएको अध्यक्ष देवकोटाले बताए । उनले आफूहरूले ‘अक्षय कोष’ बनाउन चाहेपनि कानुनी बाध्यताका कारण ‘पुरस्कार तथा सम्मान कोष’ बनाउन परेको बताए । ‘अक्षय कोष’ गठनको कानुनी विमर्शमा परिषद्लाई लामो समय लागेको उनको भनाइ छ ।

परिषद् पार्टीको जनवर्गीय संगठन भएकाले निर्देशिका अनुसार काम गर्ने र मूर्धन्य व्यक्तिको नाममा पुरस्कार वितरण गर्नुपर्ने अध्यक्ष देवकोटाको जोड छ । कोषलाई चुस्त र कामकाजी बनाउन सानो टिम र सक्रिय टिम बनाउन उनको जोड छ ।पुरस्कार वितरण गर्दा विज्ञ र कुनै पनि विषयमा अध्ययन वा अनुसान्धन गरेका व्यक्तिलाई पुरस्कृत गर्न मुख्य प्राथमिकतामा दिनु पर्ने उनको जोड छ ।

त्यस्तै महासचिव गजेन्द्रप्रसाद थपलियाले कोषमा आर्थिक संकलन गर्ने २ वटा विधि अपनाउनु पर्ने बताए । उनले एउटा कोषले निर्देशिका बनाएर सदस्यसँग संकलन गर्ने र अर्को विभिन्न व्यक्तिको नाममा सहयोग गर्ने चाहानालाई जोड्नु पर्ने बताए । उनले निर्देशिका बनाउँदा सदस्यलाई रकम तोकेरभन्दा पनि उनीहरूलाई स्वैच्छिक रूपमा दिने वातावरण बनाउने पर्ने जोड दिए । उनले आफ्नो आफन्त वा नातेदारको नाममा कसैले कोषमार्फत् सहयोग गर्न चाहान्छन् भने उनीहरूसँग समेत लिन सक्ने निर्देशिका बनाउन पर्ने जोड दिए ।

उपमहासचिव शुशिल विकले कोषको उद्देश्य पहिले प्रष्ट बनाउनु पर्ने जोड दिए । कोष मार्फत् विभिन्न काम गर्न सकिने भन्दै कोषको उद्देश्यलाई प्रष्ट बनाएर आवश्यक निर्देशिका बनाउनु पर्ने जोड दिए । उनले कोषमा सदस्य थप्ने, सबैको साथ सहयोग लिएर अघि बड्ने वातावरण बनाउनु पर्ने उनको भनाइ छ ।

उपाध्याक्ष विधान आचार्यले कोषलाई सदस्य थपेर छिट्टै पूर्णता दिनुपर्ने बताए । उनले कोष गठन प्रक्रियामा लामो छलफल गरेका कारण अब यसलाई कामकाजी बनाइ हाल्नु पर्ने जोड दिए ।

तीन सदस्य रहेका कोषमा संयोजक खनाल, सचिव धिताल र सदस्य रामसरण लुइटेल छन् । उनीहरूले कोषलाई छिट्टै पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे ।