२७ भदौ २०८३, शनिबार 1789247344
Banner

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन्।

२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट बडाल अध्यक्षमा विजयी भएका हुन्। बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत पाए। त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाएका थिए । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गए राति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।

यस्तै उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट, महासचिवमा नरेश रोकाय निर्वाचित भएका छन्। कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन्।

सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, दीपेश प्रसाईँ, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, दीपक धामी, आरती भट्टराई र विनिता काफ्ले विजयी भएका छन्।

२०७२ फागुनमा काठमाडौँमा सम्पन्न २२ औँ महाधिवेनबाट अध्यक्षमा नविना लामा निर्वाचित भएपछि एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुको निर्वाचन हुन सकेको थिएन ।