८ मंसिर २०८१, शनिबार 1732382237
Banner

सुदूरपश्चिम कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं। सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाएका छन् ।

दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारीमा रहेका शाहले सोही विषयमा छलफल गर्न दलको बैठक बोलाएका हुन् ।

कांग्रेसका प्रदेशसभा सदस्य मेघराज खड्काले बिहान १० बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए। बैठकले मुख्यमन्त्री शाहले आइतबार लिने गरी तय भएको विश्वासको मतका सम्बन्धमा निर्णय हुने उनले बताए।

सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सरकारमा आलोपालो तथा मन्त्रालय भागबन्डामा लिखित सहमति नगरेमा विश्वासको मत दिन नसकिने अडान लिएपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन्।

२६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएकै कारण एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो। सोही दिन ठुलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराएका छन्।

राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता समीकरण फेरिएपछि प्रदेशमा पनि केन्द्रकै गठबन्धन बनेको हो। मुख्यमन्त्रीले विश्वासको मत दिनु अघि नै शक्ति बाँडफाँड गर्नुपर्ने अडान माओवादी र नाउपाले लिइरहेको बताउदै प्रदेशसभा सदस्य खड्का सबै कुरा सहमतिका आधारमा टुंगोमा पुग्ने बताए।

‘उहाँहरुले विश्वासको मत लिनुअघि शक्ति बाँडफाँट गर्नुपर्ने माग गर्नुभएको छ। त्यो विषयमा प्रदेश र केन्द्रीयस्तरमा पनि वार्ता भइरहेको छ,’ खड्काले भने, ‘सबै कुरा टुंगोमा पुग्छ र मुख्यमन्त्री ज्यूले विश्वासको मत पाउनुहुन्छ।’

नेताहरुकाअनुसार सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित प्रतिबद्धता मागेको माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास मन्त्रालय समेतका २ महत्वपूर्ण मन्त्रालय पाउनुपर्ने अडान लिएको छ भने नागरिक उन्मुक्ति पार्टीले पनि २ मन्त्रालय मागेको छ।