१३ भदौ २०८३, शनिबार 1787998262
Banner

पोखरेल-खनाल भेट : पार्टी एकताबारे छलफल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच पार्टी एकताबारे छलफल भएको छ । नेता खनालको निजी निवास डल्लुमा भएको भेटवार्तामा महासचिव शंकर पोखरेलले पार्टी एकताको प्रस्ताव गरेका छन् ।

‘देश राजनीतिक र आर्थिक रुपले गम्भीर संकटमा पुगेको छ। वामपन्थीबीचको सहकार्य गर्दै पार्टी एकतामा लाग्नुपर्छ’, महासचिव पोखरेलले खनालसँग प्रस्ताव गरेका छन्। पोखरेलको प्रस्तावप्रति नेता खनालले आफु सकारात्मक रहेको जवाफ दिएका छन्।

नेता खनालले पोखरेलसँग भेटवार्ता भएको पुष्टि गरे । ‘अहिले देशको अवस्था ठिक छैन । यस्तो बेला राजनीतिक नेताहरुबीच भेटवार्ता हुनु स्वभाविक हो, भइरहेका छन्’, खनालले भने, ‘मुलुकको समस्या कसरी समाधान गर्ने भन्ने बारेमा कुराकानीहरु हुन्छन्, एमाले महासचिवसँग पनि त्यसैमा रहेर कुराकानी भयो।’

पछिल्लो समय राजनीतिक समीकरण फेरिएसँगै एमाले र एकीकृत समाजवादीका नेताहरुबीचको भेटवार्ता बाक्लिएको छ । नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता खनाललगायतका नेताहरुसँग दैनिकजसो संवादमा छन् । यसअघि बिहीबार राष्ट्रपतिका उम्मेदवारसमेत रहेका सुवास नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु एकीकृत समाजवादीको कार्यालयमा पुगेर राष्ट्रपतिमा भोट माग्नुका साथै पार्टी एकताबारे करिव २ घण्टा छलफल गरेका थिए ।