काठमाडौं । आठ दलीय गठबन्धनको बैठक सिंहदरबारमा जारी छ। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठक राष्ट्रपति निर्वाचन, समसामयिक विषयमा केन्द्रित छ।
राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ। आठ दलले साझा उम्मेदवारका रुपमा कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ। नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।
यता प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरूद्ध आजै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। प्रचण्डविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइका लागि बिहीबारलाई पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ। यस विषयमा पनि आजको ८ दलको बैठकमा छलफल हुने स्रोतले जनाएको छ।
रिट निवेदक अधिवक्ता ज्ञानेन्द्रराज आरणले मंगलबार बिहान सर्वोच्च पुगेर प्रचण्डविरुद्ध रिट दायर गरेका हुन्। गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।
अधिवक्ता आरणले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्।