२१ बैशाख २०८३, सोमबार 1777905171
कला/साहित्य

दर्शक नपाएपछि ‘छड्के २’ ६ दिनमै हलबाट बाहिरियो

काठमाडौं । अनमोल केसीको शीर्ष भूमिका रहेको ग्याङस्टर ड्रामा ‘छड्के २’ प्रदर्शनको ६ दिनमै क्यूएफएक्ससहितका मल्टिप्लेक्सबाट हटेको छ। दर्शक नै नआएपछि हलबाट फिल्म हटाइएको हल सञ्चालकहरूले जानकारी दिएको छ ।

वान सिनेमाज्, बिग मुभिज, आईएनआई लगायत मल्टिप्लेक्सले एक–एक शो उपलब्ध गराएपनि औंलामा गन्न सकिने संख्यामा मात्र दर्शकको उपस्थिति देखियो। अनमोलको करिअरमै एक साता नहुँदै फिल्म हलबाट उत्रिएको यो पहिलो फिल्म भएको फल्म निर्माण टिमले बताएको छ । यसले ठूलो व्यावसायिक धक्का लागेको भन्दै उनीहरूले यस्तो आशा नराखेको बताएको छ ।

वितरकका अनुसार फिल्मको पाँचदिने कमाइ ३० लाखभन्दा कम छ। फिल्म तीन करोड रुपैयाँ बजेटमा निर्माण भएको हो । लगानी कर्ताले कथा र निर्देशक भन्दा नायक अनमोल केसीलाई हेरेर लगानी गरेका थिए ।

नायक र स्टारडम हेरेर पैसा लगानी गर्नेहरुलाई ‘छड्के २’को असफलताले सतर्क बनाएको छ। अब कथावस्तु हेरेर लगानी गर्ने ट्रेन्ड आउने निर्माताहरूको दाबी छ ।

निगम श्रेष्ठ निर्देशित फिल्मले निकै कमजोर समीक्षा प्राप्त गरेको छ। ओपनिङमै फिल्मको अकुपेन्सी पाँच प्रतिशत हाराहारीमा मात्रै थियो। फिल्मलाई प्रशान्त गिरी र देवकुमार श्रेष्ठले निर्माण गरेका हुन् भने अनमोलले यो फिल्मबाट ५० लाख रुपैयाँ पारिश्रमिक लिएको जनाइएको थियो।