८ मंसिर २०८१, शनिबार 1732402632
Banner

उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न जसपाको बैठक बस्दै

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा दिउँसो ३ बजे बैठक बस्ने पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।

सत्ता गठबन्धनमा भागबण्डा गर्दा राष्ट्रपति उम्मेदवार नेपाली कांग्रेसले र उपराष्ट्रपति उम्मेदवार जसपाले पाउने सहमति भएको थियो। राष्ट्रपति पदको निर्वाचन आज र उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ।

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्।

जसपाका नेता थापाका अनुसार आज बिहान ९ बजे आफ्ना सबै सांसदहरूलाई पार्टी कार्यालय बालकुमारीमा उपस्थित हुन भनिएको छ। पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम तय भएको उनले बताए।

जसपाका संघीय सांसद १४ र प्रदेशसभा सदस्य २२ गरी ३६ मतदाता छन्। प्रतिनिधिसभा समानुपातिकतर्फको एक स्थान भने रिक्त छ।