काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गर्न निर्वाचन आयोगले अनुमति दिएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसगँ अनुमति मागेको थियो। बिहिबार आयोगबाट बढुवा सिफारिस गर्न अनुमति आएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पद रिक्त छ। फागुन ७ बाट एआईजी पुजा सिंहले अवकाश पाएपछि रिक्त एआईजीको दरबन्दी ५ पुगेको हो। आयोगको सहमति सँगै गृह मन्त्रालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ।
प्रहरी नायव महानिरीक्षक (डिआईजी) बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य बढुवा प्रतिस्पर्धामा आगाडी छन्। एआईजीमा बढुवाका प्रतिस्पर्धीहरु २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए। प्रतिस्पर्धी मध्येका दिपक थापा २०५२ भदौ १९ मा प्रहरीमा प्रवेश गरेका हुन।
प्रतिस्पर्धीहरु मध्येमा जो एक नम्बरमा अतिरिक्त महानिरिक्षकमा बढुवा हुनेछन् तिनै १५ दिनपछि महानिरिक्षक (आईजीपी) हुने संभावना बलियो हुन्छ। डिआईजीको मेरिट लिस्टमा बसन्त बहादुर कुँवर एक नम्बरमा छन्। दुई नम्बरमा टेक प्रसाद राई, तेस्रो नम्बरमा दिपक थापा छन्। यसअघि मेरिट लिस्टको तेस्रो नम्बरका डिआईजी अशोक सिंहले जन्ममिति विवादका कारण राजिनामा दिए। उनको राजिनामा स्विकृत भैसकेको छ।
प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहसँगै उनका ब्याचमेटहरु २०७९ चैत ११ मा अवकाशमा जाँदै छन्।