१२ भदौ २०८३, शुक्रबार 1787956303
समाचार

अस्तालमा भर्ना भएको बिरामी खोलामा मृत फेला

काठमाडौं। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक बिरामी खोलामा मृत फेला परेका छन्।

दमको उपचारको लागि चैत ४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्राका ७० वर्षीय लालु नेपाली प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला परेका हुन्।

बिरामी लालु चैत ५ गते राति करिब १२ बजेको समयमा अस्पतालबाट बाहिर निस्केका थिए। अस्पतालमा खोज्दा नभेटिएपछि बिरामी कुरुवा बुहारी दुरपतीले प्रहरीलाई खबर गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मृतकका आफन्तले भने अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिनुमा अस्पताल प्रशासनको गम्भीर लापरबाही भएको अरोप लगाएका छन्।

उनीहरुले उक्त वार्डमा खटिएका स्वास्थ्यकर्मी तथा प्रतिष्ठानको मुल गेटमा खटिएका सुरक्षाकर्मीलाई कारबाही हुनुपर्ने माग राखेका छन्। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।