२३ भदौ २०८३, मंगलबार 1788899845
Banner

साउदी अरेबियाका विदेशमन्त्री राजकुमार नेपाल आईपुगे

काठमाडौं । साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल–साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने भ्रमणका लागि आज (सोमबार) काठमाडौं आईपुग्नुभएको छ ।

साउदी विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। उहाँले भोलि परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्दैहुनुहुन्छ ।

दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने छन्। सम्झौतापछि नेपाल र साउदी अरेबियाबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य हुने बताइएको छ। श्रीलङ्काबाट आफ्नै हवाईजहाजमा नेपाल आएका उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैद सुलेमान एम अलमरवानीलगायतले स्वागत गर्नुभएको थियो ।

साउदी विदेशमन्त्री अलसाउद भोलि बेलुकी स्वदेश फर्कने कार्यतालिका छ ।