१२ भदौ २०८३, शुक्रबार 1787945708
Banner

भाडामा काठमाडौं प्लाजा १० वर्षका लागि महानगरले लियो

काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजा १० वर्षका लागि भाडामा लिएको छ । महानगरपालिकाले प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग बुधबार सम्झौता गरेको छ।

नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

महानगरपालिकाले नेपाल ट्रष्टसँग १० वर्षका लागि यो सम्झौता गरेको हो। ५ बर्षपछि १० प्रतिशतलेभाडा वृद्धि गर्ने सम्झौतामा उल्लेख छ।

५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको काठमाडौं प्लाजा ७ तलाको छ। भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २०० दुई पाङ्ग्रे सवारी साधन अटाउने पार्किङ् छ।

काठमाडौं प्लाजालाई महानगरपालिकाले कार्यालय प्रयोजनका लागि प्रयोगमा ल्याउने बताएको छ। हाल विभिन्न ठाउँमा छरिएर रहेका महानगरका विभागका कार्यालयहरूलाई अब काठमाडौं प्लाजाबाट सञ्चालन गरिनेछ।