काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकजना मन्त्रीको नाम भने पनि आजै दिन आग्रह गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आकस्मिक बैठक बोलाएका छन्।
आज बिहान बालुवाटारमा गठबन्धनको बैठकपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच एक्ला एक्लै छलफल भएको थियो। त्यस क्रममा नेपालले ३ मन्त्रालयमा अडान कायम राखेपछि प्रधानमन्त्रीले आज बेलुकासम्म एकजनाको भने पनि नाम दिन आग्रह गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीले नेकपा एसलाई ३ मन्त्री दिन सकारात्मक भए पनि सबैलाई बाँड्दा २ मन्त्रालयभन्दा माथि जान नसकिने बताएका छन् । आजै एकजना मन्त्रीको नाम दिन आग्रह गरेपछि नेकपा एसको सचिवालय बैठक बोलाइएको छ ।
सचिवालयमा छलफल गरेर एकजनाको नाम आजै पठाइने नेकपा एसका एक नेताले बताए। स्रोतका अनुसार नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ। प्रधानमन्त्रीले अर्को मन्त्रालय वन प्रस्ताव गरेपनि नेकपा एसले भने कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ।
नेकपा एसबाट तीन मन्त्रालय पाउँदा डा.बेदुराम भुसाल, प्रकाश ज्वाला र भानुभक्त जोशी मन्त्री बन्ने भएका छन्।
आजै एकजनाको नाम दिँदा कसको पठाउने भन्नेबारे सचिवालयबाट टुंगो लगाउने भनेर नेपाल बालुवाटारबाट पार्टी कार्यालयतर्फ लागेका छन्।