८ मंसिर २०८१, शनिबार 1732389725
Banner

आज मन्त्रिपरिषद बिस्तार गर्ने सरकारको तयारी, कोको बन्दै छन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्त भएयता आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डको नेतृत्वमा ११ पुसमा पहिलोपटक मन्त्रिपरिषद् गठन भएको थियो । त्यसबेला नेकपा एमालेसँग नेकपा माओवादी केन्द्रको सत्ता सहकार्य थियो ।

११ पुसमा प्रचण्ड नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन हुँदा एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीका रूपमा सरकारमा गएका थिए ।

त्यसपछि ३ पुसमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएका थिए भने एमाले, राप्रपा, रास्वपाबाट सरकारमा मन्त्रीहरू थप गरिएको थियो ।

गत १३ फागुनमा एमाले र माओवादी केन्द्रको सत्ता सहकार्य टुंगिएपछि नयाँ सत्ता गठबन्धन बनेको थियो । हालको सत्ता गठबन्धनमा १० दल सहभागी छन् । आज मन्त्रिपरिषद् विस्तार हुँदा यससहित तेस्रोपटक हुनेछ भने मन्त्रीको जिम्मेवारी हेरफेर र कार्यविभाजन चौथोपटक हुनेछ ।

कोको बन्दै छन् मन्त्री ?
नेपाली कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी लिएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सरकारमा सहभागी हुँदै छन् । कांग्रेसबाट अर्थमन्त्रीमा डा. प्रकाशसरण महत सरकारमा जाँदै छन् ।

यसैगरी धनराज गुरुङ, सीता गुरुङ, प्रदीप पौडेल, रमेश रिजाल, एनपी साउद, दीपक गिरी पनि कांग्रेसका तर्फबाट मन्त्री बन्ने तयारीमा रहेको स्रोतले बताएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले हाल सम्हाल्दै आएको एक मन्त्रालय छाडेर गृह लिनेछ । गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ जानेछन् भने अन्य मन्त्री यथावत रहनेछन् ।

यसैगरी, एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन् । उनीहरूको नाम बुधबार बसेको सचिवालय बैठकले मन्त्रीका लागि सिफारिस गरिसकेको छ ।

यस्तै, जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री बन्दै छन् । जसपाबाट अशोक राईको नाम पक्का छ भने अर्का एक मन्त्रीमा राजकिशोर यादव या प्रदीप यादवमध्ये एक जना हुनेछन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी मन्त्री बन्ने निश्चित छ । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्दै छिन् ।

यस्तै, जनमत पार्टीबाट समानुपातिक सांसद अब्दुल खान हाल सरकारमा खानेपानीमन्त्री छन् । उनको जिम्मेवारी हेरफेर हुनसक्छ ।

यसैगरी, एमाले छाडेर ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचन जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्दै छन् भने डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव मन्त्री बन्दै छन् । रास्वपाले पार्टी सभापति रवि लामिछानेले आपनै नेतृत्वमा सरकार आउने बताएपछि गठबन्धनका दलहरु गैरसांसदलाई मन्त्री बनाउन सहमत नभएपछि चुनाव जितेपछि उनको पार्टीलाई सरकारमा सामेल गराउने सहमति भएको स्रोतको दाबी छ ।