१५ श्रावण २०८३, शुक्रबार 1785496876
Banner

हाम्रो भूमि कहाँ के भइरहेको छ प्रचण्डले खुलस्त भन्न सक्नुहुन्छ ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारको भूमि कहाँ-कहाँ मिचिएको छ खुलस्त पार्न माग गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै अध्यक्ष ओलीले ताबेदारीको सट्टा भूमिमा दाबेदारीको कुरा गर्न उहाँले सुझाव दिनुभयो ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपाली भूमिबारे के भइरहेको छ भनेर बोल्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले कमसेकम जमिनको बारेमा, हाम्रो भौगोलिक अखण्डताको बारेमा बोल्नुपर्छ । प्रधानमन्त्रीले बोल्नुस् हाम्रो भूमि के भइरहेको छ । कहाँ कहाँ के भएको छ खुलस्त भन्नुस् ।’

नेपालको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता कमजोर स्थितिमा पुगेको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘तर सरकार कानमा तेल हालेर चुप रहेको छ। हाम्रो भूमि खुम्चिँदो छ, हाम्रो सीमा मिचिँदो छ, सरकार मौन छ। किनभने यसमा बोल्यो भने सरकार धरापमा पर्न सक्दछ । आफ्नो पद खतरामा पर्छ भनेर बोल्न डराउनेले देशको पक्षमा पनि काम गर्न सक्दैन।’

चुनावमा समेत बाहिरबाट कसले ‘सपोर्ट’ गर्छ उसैले जित्छ भनेर चर्चा चल्ने गरेको भन्दै ओलीले अभ्यास आन्तरिक हुने भए पनि हिसाब बेग्लै हुने गरेको टिप्पणी गर्नुभयो ।