काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र सहमति जुटाएर आज नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आमजनता पार्टी गरी नौ दलको सहभागिता हुने भएको छ ।
सत्ता साझेदार दलहरूबीच कांग्रेसले ८, माओवादी ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीलाई १/१ मन्त्रालय लिने सहमति भएको थियो ।
गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय पाएको छ ।
कांग्रेसले अर्थ मन्त्रालयमा प्रवक्ता प्रकाशशण महतलाई पठाउने यसअघि नै तय भइसकेको छ । यस्तै, सहरी मन्त्रालयमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बू र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने कांग्रेसको तयारी छ ।
यसैगरी, माओवादी केन्द्रले गृह मन्त्रालयसहित पाँच, एकीकृत समाजवादी र जसपाले दुई÷दुई मन्त्रालय पाउनेछ । माओवादी केन्द्रबाट हाल सरकारमा रहेका मन्त्री नै कायम रहनेछन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुषाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन् । एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाएको छ ।
यसैगरी, जसपाबाट अशोक राई र राजकिशोर यादव वा प्रदीप यादवमध्ये एक जना मन्त्री हुँदै छन् । जसपाले शिक्षा र कृषि मन्त्रालय पाएको छ ।
नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद मन्त्रालय पाएको छ । सो दलबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफैं मन्त्री बन्दै छिन् । लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै छन् । लोसपाले श्रम मन्त्रालय पाउने गठबन्धनमा सहमति भएको छ ।
जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ सो दलबाट अब्दुल खान मन्त्री छन् । उनलाई खानेपानी मन्त्रालयबाट उद्योगमा सरुवा गर्ने तयारी छ । सो दलले एक राज्यमन्त्री पनि पाउनेछ ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाएको छ । सो दलबाट महिन्द्रराय यादव मन्त्री बन्दै छन् भने आमजनता पार्टीबाट प्रभु शाह मन्त्री बन्दै छन् ।
भागबन्डामा केही मन्त्रालय हेरफेर हुने भएपछि भौतिकमन्त्री नाराणकाजी श्रेष्ठ गृह र सामान्य प्रशासनमन्त्री अमनलाल मोदी ऊर्जा मन्त्री बन्नेछन् ।