९ मंसिर २०८१, आइतबार 1732480982
राजनीति

सम्मानजनक सहभागिता नभए शेखर समूहले मन्त्रीको नाम नदिने

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने बताएको छ। सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ।

सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन्। शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ। सहमहामन्त्री जीवन परियारले सम्मानजनक सहभागिता नभए सरकारमा नजाने र बाहिरै बस्ने जानकारी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराइएको बताए।

‘हामी छलफलमा बसेको थियौँ। सम्मानजनक सहभागिता नभए सरकारमा जान्नौँ। बाहिरै बस्छौँ,’ उनले भने, ‘यो बारे हामीले प्रधानमन्त्री र सभापति दुवैलाई भनिसकेका छौँ।’ प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले ७ मन्त्रालय पाउने सहमति भइसकेको छ। इतर समूहले जसमध्ये कम्तिमा ३ मन्त्रालय पाउनु पर्ने बताउँदै आएको छ।