काठमाडौं। सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै छ। साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।
आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ। सो कार्यक्रमलाई आज साँझ ५ बजे सार्वजनिक गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय रमेश मल्लले जानकारी दिए।
यसअघि सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्युनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो। कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेल लगायत सदस्य थिए।
कार्यदलले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको न्युनतम साझा कार्यक्रमलाई सामान्य परिमार्जन गरी सार्वजनिक गर्न लागिएको एक नेताले बताए ।