काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी सञ्चालन गरिरहेको ‘ग्रासरुट अभियान’ एमालेलाई उत्कृष्ट कम्युनिस्ट पार्टी बनाउनका लागि भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित काठमाडौं गोरखा सम्पर्क मञ्चको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पछिल्लो समय पार्टी सञ्चालन प्रणालीमा सुधार आवश्यक देखिएका कारण अभियान गर्नु परेको उनको भनाइ थियो । पार्टी भित्र बुर्जुवा करण हुँदै गएको र त्यसलाई परास्त गर्दै उत्कृष्ट कम्युनिष्ट पार्टी बनाउन यो अभियान सफल हुने उनको भनाइ छ ।
नेपालका पुराना पार्टीहरू पछिल्लो समय बुर्जुवा प्रणालीबाट सञ्चालन हुन थालेको भन्दै उनले एमालेलाई यो प्रणालीबाट मुक्त गर्न आवश्यक रहेको उनले बताए । उनले कांग्रेस, माओवादीहरू समेत बुर्जुवा प्रणालीबाट सञ्चालन भइरहेको बताए ।
कांग्रेस, माओवादी बुर्जुवासँगै दलाल पुजीवादको पक्षपोषकसमेत भएको बताए । कांग्रेस घोषित रूपमै बुर्जुवा भएपनि माओवादी नीतिमा एउटा कुरा गर्ने र व्यवहारमा अर्कै गर्ने पार्टी भएको उनले बताए । माओवादीले भन्दा समाजवादी कम्युनिष्ट भन्ने तर, व्यवहार दलाल पुजीपतिको पक्षपोषक गर्ने उनको आरोप छ ।
देशको सार्वभौम सत्ताको रक्षा र विकासको लागि एमालेलाई ५१ प्रतिशत मत चाहिएको उनले बताए । उनले एमाले भित्रको हरेक संगठनलाई चुस्त र दुरुस्त राखेर पार्टी सञ्चालन गर्न र ५१ प्रतिशत मत ल्याउने लक्ष्यसहित यो अभियान सुरुगरिएको दाबी गरे ।
हरेक कमिटीलाई माथिल्लो कमिटीसँग प्रतिबद्ध बनाएर पार्टी संगठन सञ्चालन गर्दा पार्टीले राखेको लक्ष्य पुरा हुने उनको दाबी छ । नेपालमा कम्युनिस्ट पार्टीको सरकार बन्न सक्छ भन्ने कुराको स्थापित एमालेले गरेको भन्दै कम्युनिस्ट पार्टी र सिद्धान्तले जीवनलाई सहज र सरल बनाउन सकिन्छ, भन्ने कुरा एमालेले नै स्थापित गर्ने उनले बताए ।
गोरखामा संगठन निर्माण गर्न गम्भीर भएर गोरखाका एमालेहरू लाग्नुपर्ने नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष एवं बाग्मती प्रदेशका सांसद डा.दिनेशचन्द्र देवकोटाले बताए । उनले आफूले एमालेमा आवद्ध भएर जनवर्गीय संगठनको नेतृत्व गर्दाको अनुभव पनि गोरखमा अलि बढी मेहनत गर्नुपर्ने देखिएको सुनाए ।
‘मिसन ग्रासरुट अभियान’बाट अहिले नेता कार्यकर्ताको ब्लड टेष्ट भइरहेको उनले बताए । यो अभियानबाट एमाले भित्रका सबै राम्रा र नराम्रा विषयलाई टिपोट गरेर पार्टी सुदृढीकरण गर्नुपर्ने नीति बन्ने उल्लेख गर्दै उनले कसले सही र कसले गलत रिर्पोट ल्याउँछ भन्ने विषयको चिरफार गरेर पार्टी निर्माण गर्न ‘मिसन ग्रासरुट अभियान’ सुरु भएको बताए ।
गण्डकी प्रदेश सम्पर्क समन्वय कमिटी अध्यक्ष ऋषिराम कँडेलले मिसन ग्रासरुट अभियानले पार्टीलाई नयाँ उर्जा दिइरहेको बताए । उनले यो अवधिमा पार्टी निर्माण र सदस्यहरूको समेत नविकरण भइरहेको बताए । यो अभियानले एमालेलाई एकल बहुमत ल्याएर सरकार सञ्चालन गर्न दह्रो आधार तयार गरेको उनको दाबी छ ।
गोरखा जिल्ला उपसचिव सुरेश श्रेष्ठले पार्टी निर्माण गर्न सबै नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने बताए । गोरखाका स्थापित नेता कार्यकर्ता काठमाडौंमा व्यापार व्यवसाय गरेर बसेको उल्लेख गर्दै उनले पार्टीले उनीहरूलाई उचित सम्मान दिएर परिचालन गर्नुपर्ने आवश्यकता भएको बताए ।
गोरखका जिल्ला कमिटी सदस्य मिनबहादुर अधिकारीले यो अभियानले गोरखालाई नयाँ ढंगले पार्टी निर्माणका लागि तयार गरेको बताए । उनले गोरखाका विषयमा पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने समेत बताए । गोरखामा नेकपा एमालेले उच्चशीर बनाएर हिड्न सक्ने बनाउन समीक्षा जरुरी रहेको उनले बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै गोरखा जिल्ला इन्चार्ज चन्द्र पन्तले पार्टीको नीति र उद्देश्यलाई प्रष्ट रूपमा राख्न सक्यौं की सकेनौं भन्ने विषयलाई ध्यान दिनुपर्ने बताए । देशमा अस्थिरता बढी रहेको भन्दै उनले अब एमालेलाई यस्तो परिस्थितिमा लोकप्रिय र सशक्त बनाउन लाग्नुपर्ने बताए ।
काठमाडौं गोरखाका अध्यक्ष भीमप्रसाद कार्कीले कार्यक्रमको अध्यक्षता गरेका थिए । उनले गोरखका सम्पर्क मञ्चलाई सशक्त रूपमा आगडि बढाउन लागेको बताए । उनले गत निर्वाचनमा समेत आफूले मुख्य भूमिका निर्वाह गरेको तथा विभिन्न जनवर्गीय संगठनहरूको सम्मेलनमा समेत महत्वपूर्ण सहयोग गरेको बताए ।