८ मंसिर २०८१, शनिबार 1732348363
राजनीति

सामाजिक न्याय र समाज परिवर्तन नै हाम्रो मूल लक्ष हो : महेश बस्नेत

नेपालगञ्ज । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले नेकपा एमालेको मूल उद्देश्य सामाजिक न्याय र समाज परिवर्तन रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज समेत रहनुभएका बस्नेतले संघको नवौँ राष्ट्रिय महाधिवेशनको तयारी सन्दर्भमा आइतबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजनीतिको मूल उद्देश्य समाज परिवर्तनको हुनु पर्ने बताउनुभयो । ‘सामाजिक रूपान्तरणको अभियान नै हाम्रो मूल लक्ष हो’, उहाँले भन्नुभयो ।

जनताको बहुदलीय जनवाद मार्फत समाजवादमा पुग्ने लक्ष नै राष्ट्रिय युवा संघ नेपालको लक्ष भएको उहाँले स्पष्ट पार्नुभयो । नेपाली युवाको सरोकार, स्वास्थ्य शिक्षा र रोजगारको नारा राष्ट्रिय युवा संघले ल्याएको उहाँले बताउनुभयो । युवा संघले कार्यनीतिक नाराको रूपमा यसलाई अघि बढाउने उहाँले बताउनुभयो ।

युवा संघले युवाको रोजगार, युवा परिषद् स्थापना लगायत युवाका आम सरोकारका विषय उठाएको उहाँले बताउनुभयो । युवासंघले उठाएका कतिपय कुरा सम्बोधन भएका र अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । ‘नेपालको युवा आन्दोलनमा राष्ट्रिय युवा संघ नेपाल बाघ संगठनको रूपमा स्थापित भएको छ’, उहाँले भन्नुभयो ।

युवा रचनात्मक र सृजनशील हुनुपर्ने बस्नेतले बताउनुभयो । पछिल्लो समय युवा आन्दोलनलाई युवा संघले त्यो मोडलमा अगाडि बढाएको उहाँले प्रष्ट पार्नुभयो । राष्ट्रिय युवा संघ नेपालले नेपालको युवा आन्दोलनलाई सृजनशील ढङ्गले अघि बढाएको उहाँले दाबी गर्नुभयो ।

राजनीतिक रूपमा देखिएका कमजोरीको पनि महाधिवेशनमा गम्भीर समीक्षा हुने उहाँले बताउनुभयो । युवा आन्दोलनलाई भ्रष्टिकरण र अपराधीकरण तर्फ जानबाट रोक्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।

अहिले विभिन्न नाममा अराजकतावादी शक्तिहरू विभिन्न नाममा प्रकट भइरहेका भन्दै बस्नेतले चिन्ता व्यक्त गर्नुभयो । पुँजीवादी भन्दा पनि काम नलाग्ने अराजक नव उदारवादी सिद्धान्तको प्रयोग गरेर युवालाई दुरुपयोग गर्ने प्रयास भइरहेको भन्दै बस्नेतले त्यसलाई रोक्नु पर्ने बताउनुभयो ।