८ मंसिर २०८१, शनिबार 1732347049
राजनीति

संसदीय समितिका लागि सभामुखलाई सांसदको नाम बुझाउँदै दल

काठमाडौं । प्रतिनिधिसभाको विषयगत समितिमा रहनेहरूको नाम दलहरूले एकदुई दिनभित्रै बुझाउने तयारी गरेका छन्। सोमबारको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले विषयगत समितिलाई छिटो टुंगो लगाउने निर्णय गरेको थियो।

राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसहितको बैठकले एकदुई दिनभित्रै विषयगत समिति टुंगो लगाउने सहमति गरेका हुन्।

सभामुख देवराज घिमिरेले संसदीय समितिका लागि दलहरूसँग सांसदको नाम मागेका थिए। मंगलबार बेलुकीसम्म १० वटा विषयगत समितिमा दलहरूले आफ्नो दलबाट सदस्य पठाउने तयारी गरेका छन्।

नेपाली कांग्रेसको लागि अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, राज्य व्यवस्था, शिक्षा समितिमा ८ जना सांसदको सिट संख्या तोकेको छ। कृषि, महिला र पूर्वाधार विकासमा ९ जना सांसदले प्रतिनिधित्व गर्नेछन्।

नेकपा एमालेले शिक्षामा ७ जना सांसदको सिट पाएको छ। अन्य सबैमा ८ जनाले प्रतिनिधित्व गर्न पाउने भएको हो।

नेकपा माओवादी केन्द्रले भने अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, कृषिमा ३ जना सांसद र अन्यमा २ जना सांसदले प्रतिनिधित्व गर्न पाउने छन्।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रियमा १ जनाले र अन्यमा २ जनाले प्रतिनिधित्व गर्नेछन्। जनता समाजवादी पार्टी नेपालले भने सबै समितिमा १ जना सांसदले प्रतिनिधित्व गर्न पाउनेछन्।

जनमत पार्टीले अर्थ, उद्योग, कानुन, महिला, शिक्षा र सार्वजनिक लेखामा १ जना सांसद हुनेछन्। लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसदले अन्तर्राष्ट्रिय, राज्य व्यवस्था र शिक्षामा प्रतिनिधित्व गर्नेछन्।

नागरिक उन्मुक्ति पार्टीको लागि अन्तर्राष्ट्रिय, पूर्वाधार विकास र शिक्षामा १ जना सांसदको संख्या तोकेको छ।