१९ असार २०८३, शुक्रबार 1783097518
Banner

राष्ट्रपतिद्वारा सात सय २८ मानपदवी प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गर्नुभयो । राष्ट्रपति पौडेलले नेपाल रत्न पूर्वप्रधानमन्त्री स्व कोइरालालाई प्रदान गर्नुभयो । राष्ट्र गौरव राजनीतिज्ञ स्व जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् स्व सत्यमोहन जोशीलाई प्रदान गर्नुभयो ।

सुप्रसिद्ध प्रबल जनसेवाश्री डा जगमान गुरुङलाई प्रदान गरियो । समारोहमा व्यवसायी, संस्कृतिविद्, कलाकार, पत्रकार, समाजसेवी, खेलाडी, प्रशिक्षक, निजामती, जङ्गी, चिकित्सक, विदेशी नागरिकलगायतलाई मानपदवी प्रदान गरिएको मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गर्नुभएको थियो । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ ।