८ मंसिर २०८१, शनिबार 1732361666
समाचार

आँबुखैरेनी खण्डमा ७ किलोमिटर सडक कालोपत्रको तयारी

काठमाडौं। मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ।

मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले आँबुखैरेनीतर्फबाट ७ किलोमिटर सडक कालोपत्रको तयारी गरेको हो। चालु आर्थिक वर्षभित्रै ७ किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ।

विविध कारणले सडक कालोपत्रको काम ढिलाइ भएको बताउँदै आयोजनाले १० दिनभित्र कालोपत्रको काम सुरु हुने जनाएको छ ।

आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्डमा अहिले सडक विस्तार, पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ। हालसम्मको उक्त खण्डको भौतिक प्रगति २२.५ प्रतिशत रहेको छ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१.४५ किमि यो खण्डमा ३ ठूला र ४ साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ।