९ भदौ २०८३, मंगलबार 1787693561
Banner

भारतमै पक्राउ परे अमृतपाल सिंह

एजेन्सी। खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ परेका छन्। उनी पक्राउ परेको पन्जाबका प्रहरी अधिकृतहरुले पुष्टि गरेका छन्।

शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका छन्। त्यो संगठनका प्रमुख अमृतपाल सिंह नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दावी गरेको थियो।

तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो। अमृतपाल सिंहको बारेमा प्रतिनिधिसभामा पनि कुरा उठेको थियो।

पन्जाब प्रहरीले अमृतपाल सिंह पन्जाबकै मोगा भन्ने स्थानबाट पक्राउ परेको जनाएको छ।

लामो समय दुबईमा बसेपछि उनी गत वर्षको अगष्ट महिनामा पन्जाब फर्किएका थिए। त्यसपछि उनले अमृत सन्चार नशा मुक्ति आन्दोलनको नामबाट युवाहरुलाई संगठित गर्न सुरु गरेका थिए। पन्जाबबाट उनका थुप्रै समर्थकहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो। अमृतपाल भने लुकेर बस्दै आएका थिए।

उनका बुवा तरसेम सिंहले छोरा अमृतपालको ज्यानको खतरा रहेको बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।