बारा । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले उपनिर्वाचन अन्तर्गत आज मतदान भइरहेको बेला बारा २ का सीमावर्ती गाउँमा आफूलाई समेत जान नदिएको गुनासो गरेका छन् ।
अध्यक्ष राउतले भारत सिमासँग जोडएको पचरौता नगरपालिका ४ बेलदारीमा जनमत पार्टीका कार्यकर्तालाई मात्र नभएर आफूलाई पनि प्रचार प्रसार गर्न समेत जान नदिएको गुनासो गरेका हुन्।
मतदानको अवलोकन गर्ने क्रममा अध्यक्ष राउतले सञ्चारकर्मीसँग भने, ‘जसपासँग प्रशासन मिलेको छ। हाम्रो कार्यकर्तालाई ज्यान मार्ने धम्की दिएको छ, अनी कसरी निष्पक्ष निर्वाचन हुन्छ ? म राष्ट्रिय अध्यक्ष हुँदा पनि केहि गाउँमा जानसक्ने अवस्था छैन।’
देवतालको झिटकैया बुथमा मतदाताको सहमतीमा अरु व्यक्तिले पनि मतदान गर्न पाउने निर्णय जर्वजस्ती गराएको पनि उनले बताए। उनले भने– यो निर्णय बुथकब्जा गर्नकै लागि गरिएको छ।’
सुरक्षाकर्मीसँग पटक पटक सुरक्षा माग्दा नदिएको उनको गुनासो छ। उनले प्रशासनको मिलोमतोका कारण बेलदारी, झिटकैया लगायतका केही बुथ कब्जा हुनसक्ने उनको भनाई छ।