काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७१ रन बनाएको हो।
यो कीर्तिपुर मैदानमा ५० ओभरमा बनेको अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि यहि प्रतियोगितामा कुवेतसँगको खेलमा यूएईले ३७१ रन बनाएको थियो।
यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले। २२ रनमा पहिलो विकेट गुमाएको यूएईका उनीहरुले दोश्रो विकेटका लागि २४६ रनको साझेदारी गरेको थिए।
१७४ रन बनाएका अरबिन्दले १७ चौका र ७ छक्का हाने। वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १६० रन बनाए । उनले ९ चौका र १६ छक्का हाने। आयान अफजल खानले ५० बलमा ७४ रन बनाए।