८ जेष्ठ २०८३, शुक्रबार 1779475041
Banner

चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति

काठमाडौं। चितवन–२ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो। मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ।

चितवन–२ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन्। कांग्रेस उम्मेदवार श्रेष्ठले मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको जानकारी दिए।

मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सन्जालमा जथाभावी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई भन्ने र प्रमुख जिल्ला अधिकारीको भूमिकाका बारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमतिसमेत भएको श्रेष्ठले जानकारी दिए।