२६ जेष्ठ २०८३, मंगलबार 1781069107
Banner

आगो निभाउन गएको वारुण यन्त्र दुर्घटनाहुँदा पाँच जना घाइते


काठमाडौं । आगो निभाउन गएको गौर नगरपालिकाको वारुण यन्त्र गढवाटोलमा दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित पाँच कर्मचारी घाइते भएका छन् । नगरपालिकाको वडा –४ गढवाटोलमा रहेको कुखुराको खोरमा लागेको आगो निभाउन जाँदा मंगलबार राति करिब १२ बजे वारुण यन्त्र दुर्घटनामा परेको थियो ।कुखुराको खोरमा आगो लागेको खबर पाउनासाथ अग्नि नियन्त्रण कर्मचारीसहित गढवाटोल जानेक्रममा वारुणयन्त्रको ‘ब्रेक फेल’ भई दुर्घटना भएको चालक करिम अन्सारीले बताउनुभयो ।

नगरपालिकाको ना १ ग ७८८ नम्बरको वारुण यन्त्र दुर्घटना हुँदा चालक अन्सारी दमकल प्रहरी प्रेम केसरी, किशुन्द्र साह गम्भीर घाइते भएका छन् । जिल्ला अस्पताल गौरमा प्राथमिक उपचार गरी थप उपचारका लागि उहाँहरूलाई वीरगन्ज पठाइएको नगर प्रमुख शम्भु साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामान्य घाइते भएका दमकल प्रहरी शिवशङ्कर पटेल र नथुनी पासवानको गौर अस्पतालमै उपचार भइरहेको छ । मानव सेवामा खटेको वारुण यन्त्र दुर्घटनामा परी घाइते भएका कर्मचारीको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने उहाँले बताउनुभयो ।