८ मंसिर २०८१, शनिबार 1732422694
Banner

सरकारमा सहभागिताबारे रास्वपाले आज निर्णय गर्ने

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज बस्न लागेको सचेतक सन्तोष परियारले बताएको छ । केन्द्रीय समितिको बैठक पार्टी कार्यालय बसुन्धरामा बिहान ११ बजेलाई तय गरिएको छ ।

देशको पछिल्लो राजनीति र सरकारमा सहभागी हुने विषयमा आज छलफल हुने परियारले बताए । आइतबार बिहान सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री प्रचण्डले सभापति लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

बैठकमा उपनिर्वाचनको समीक्षा, संगठन विस्तार र परिचालनलगायतका विषयमा पनि छलफल हुने बताइएको छ। विशेषतः आजको बैठक सरकारमाथिको समर्थनमा केन्द्रित रहने की नरहने भन्ने विषयमा छलफल हुन्छ ।

वैशाख १० गतेको उपनिर्वाचनमा चितवन २ र तनहुँ १ मा शानदार मतसहित निर्वाचित भइसकेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीभित्र दबाब बढेको उनीहरूले बताउँछन् ।

सरकार गठनको ४ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको र यसबीचमा सरकारले जनआकांक्षा सम्बोधन गर्नेगरी सरकार अघि नबढेकाले समर्थन कायम राखिरहनु औचित्यपूर्ण नहुने पदाधिकारीसहित केही सदस्यको मत छ।