काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका छन्।
चितवनमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार पाँच वर्ष चल्नेमा शंका नगर्न आग्रह गरेका हुन् ।
‘सरकार ढल्छ भन्ने कुरा भ्रम हो। तपाईं नोट गर्नुहोला, सरकार यताउति हुन्छ कि भन्ने निकै ठूलो भ्रम हो। यो सरकार पाँचै वर्ष चल्छ,’उनले पत्रकारको प्रश्नमा जवाफ दिए।
अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर त्यहाँ भएरहेको आन्दोलनमा सत्तारूढ दलको संलग्नता नरहेको प्रष्टीकरण दिए।
एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित भएको प्रर्दशनमा सत्तारूढ दलका कार्यकर्ताको संलग्नता नरहेको उनको भनाइ थियो।
‘उहाँ पूर्वमा भएको बेला पनि कुरा भएको थियो, केपीजीसँग। के देख्नुभयो भन्दा त्यस्तो त थिएन उहाँको। केहीकेही मानिस पार्टीका पनि त छन् तर बढीचाहिँ विचारसँग असहमत हुने खालका नै मानिस छन्। सत्तारूढ दलको संस्थागत विरोध भन्नेकुरा विल्कुलै होइन। त्यो झुठो कुरा हो।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रदर्शनमा पूर्वराजपरिवार त्यसमा आस्था राख्ने मानिस लागेको भन्ने कुराचाहिँ संवेदनशील रहेको उनको भनाइ थियो।